कनकाई, २१ कात्तिक । झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई नदीको किनारमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कनकाई छठ सेवा समाजले कनकाई माई नदी किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस बर्षपनि निरन्तरता दिएको हो ।
श्री कनकाई छठ सेवा समाजले आज सुरुङ्गादेखि कनकाई माई नदीसम्म सरसफाई कार्यक्रम गरेको थियो । समाजको अगुवाईमा भएको सरसफाई कार्यक्रम कनकाईका बिभिन्न सामाजिक संघरसंस्थाको समेत सहभागीता रहेको थियो । आज बिहान ८ बजेदेखि शुरु भएको सरसफाई कार्यक्रम १० बजे पूजा स्थलमा पुगेर समापन भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/jhapaonlineportal/videos/591903469911122
यस बर्षको छठ पूजाका लागि ७० वटा घाट निर्माण गरिएको समाजका अध्यक्ष बिजयकुमार शर्माले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकाका लागि निःशुल्क पन्डालको ब्यवस्थासमेत गरिएको उनले बताए । यस बर्ष सवै पन्डालमा बिद्युतिय बत्तिसमेत जडान गरिने उनले बताए । उनका अनुसार छठ पूजामा १५ हजारबढी भक्तजनहरुको उपस्थिति रहनेछ ।
समाजका महासचिव रबिन्द्र गुप्ताले छठ पूजाका लागि कनकाई नगरले यस बर्ष ठूलो सहयोग गरेको बताए । उनले अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष धेरै सहयोग गरेको बताएका हुन् । भोली बिहीवार २ बजेबाट सुरुङ्गा बजारबाट बिभिन्न जातीको झाँकीसहित पूजा स्थलसम्म र्याली गरिने उनले बताए ।
छठ पूजाका संयोजक श्याम पञ्जियारले भोली रातभर जाग्राम बसिने बताउँदै बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । पूजा सम्पन्न गर्न करिव ६ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले अनुमान गरेको छ ।