झापा, २१ कात्तिक । तिहारको अवधिमा झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कार्तिक १५ गतेदेखि सोमबारसम्म भएका ३१ दुर्घटनामा चार जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा दुई बालकसहित चार जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा कन्काई ५ चप्रामारीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय सोहन पाठकले ज्यान गुमाएका छन् । उनलाई मे ११ प ३३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
काँकडभिट्टाबाट धरान जाँदै गरेको प्र १–०२–०१ ख ९५३० नम्बरको बसको ठक्करबाट शिवसताक्षी–८ का ६१ वर्षीय गणेश खड्काको पनि मृत्यु भएको छ । झापा गाउँपालिका–६ किराँत चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सात वर्षीय अश्विन लिङ्खाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा नगरपालिका–६ दास पुलस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिँदा ताप्लेजुङ घर भएका २६ वर्षीय सन्तोष लिम्बुको ज्यान गएको छ । तिहारको अवधिमा भएका दुर्घटनामा ७ जना गम्भीर र ४५ जना सामान्य घाइते भएका छन् । ट्राफिक प्रहरीले ६६४ वटा सवारी साधनमाथि कारबाही गरेको छ ।