
बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ ।
लेखक बुढाथोकीको चार वर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज झापाको बिर्तामोडमा एक समारोहका बीच लोकार्पण गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धराबासीलगायतले गरेका हुन् ।
लोकार्पण समारोहमा आमन्त्रित बिशिष्ट ब्यक्तित्हरुका रुपमा प्राडा टंक न्यौपाने, प्राडा बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा बालचन्द्र सुब्बा लगायतको आतिथ्य थियो । कार्यक्रममा स्वागत डा कुमार सुवेदी र लेखकको परिचय रिता पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गर्नुभएको थियो ।
उपन्यास विमोचन कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीले विभिन्न संगीतमय कार्यक्रम समेत प्रस्तुत गरेका थिए । लोकार्पण समारोह कार्यक्रममा सवै क्षेत्रका बिशिष्ट ब्यतित्वसहितको बाक्लो उपस्थिति रहेको साहित्यकार तथा अग्रज पत्रकार केशव आचार्यले जानकारी दिए ।


