
झापा, २५ कात्तिक । काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अधिकारीमाथि लिखत र मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै विराटनगरबाट काठमाडौँ ल्याई जिल्ला अदालत काठमाडौँमा म्याद थप्नका लागि उपस्थित गरेको थियो ।
गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको आरोप छ ।


