
झापा, २९ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागू–औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपाल तर्फ आउँदै गरेको मुगु खत्याड गाँउपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसीलाई प्लाष्टिकबाहेक २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
त्यसैगरी आजै बेलुका मेचीनगर–६ बाटै ब्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प ६५१० नम्बरको स्कुटर चालक मेचीनगर–१० का ३३ वर्षीय नेसरु मियालाई प्लाष्टिकबाहेक २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
यसैगरी, आजै बेलुका मेचीनगर–६ पुरानो मेचीपुलबाट व्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउदै गरेका दमक–३ का २५ वर्षीय मनिशकुमार धिमाल र दमक–४ का २४ वर्षीय मनिस अधिकारीलाई प्लाष्टिकबाहेक ६ ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


