
झापा, १२ मंसिर । कन्काई धाम धार्मिक विकास संस्थाले झापाको कनकाई नगरपालिका–३ मा भएको गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
संस्थाले आज विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौ हत्याको विरोध गर्दै दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
मंगलबार यहाँ भएको गौहत्याप्रति गहिरो शोक व्यक्त गर्दै घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाहीको माग धार्मिक विकास संस्थाले विज्ञप्तिमार्फत गरेको छ ।
नेपालको संविधानमा उल्लेख भएको राष्ट्रिय जनावर र ८३ प्रतिशत हिन्दुहरुले धार्मिक आस्था र सम्मान गरी पूजा गर्ने गरेको गौ माताको हत्याको घटनाहरु बढ्दै जानुले हिन्दु धर्म र संस्कृति प्रतिको ठाडो प्रहार भएको अध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
साथै धर्म गुरु, नागरिक समाजले गरेको गौ हत्याको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप र धरपकड, लाठीचार्ज गर्नु निन्दनीय रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
मङ्गलबार दिउँसो गौहत्या भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लीलाप्रसाद सिलवालको गाई चोरी भएको थियो । काटिएको गाईलाई विधिपूर्वक कन्काई माईमा लगेर अन्त्येष्टि गरिएको छ ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ समेत गरिसकेको छ । घटनाको विरोधमा धर्मगुरु सडकमा उत्रिएका छन् । श्रीसताक्षी गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजको नेतृत्वमा गुरुहरूको टोली सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।


