
झापा, १२ मंसिर । झापाको कनकाई नगरपालिका–३ मा गौहत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भई हाल कनकाई–३ मा बस्दै आएका २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।
मंगलबार रातिको कनकाई–३ का लीलाप्रसाद सिलवालको गाई गोठमा बाँधेर राखिएको हराएको थियो । उक्त गाई खोजी गर्नेक्रममा सोही वडाको टप्पु चोकस्थित लिला सङग्रौलाको घरमा डेरा गरी बस्दै आएका उनीहरुले गाई चोरेर मारेको र मासु समेत प्रयोग गरी फरार रहेका थिए ।
घटनापछि फ।रार बुधन आलमलाई बाह्रदशी गाउँपालिका–४ र कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका–५ मेचीपुलबाट भारततर्फ भागिरहेको अवस्थामा मंगलबार नै पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय अनारमनीले झापा जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।


