
झापा, १३ मंसिर । झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा नवनिर्मित ‘८७ धारा’को आज उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त धाराको उद्घाटन गर्नुभएको हो । पैराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तर संकलित रकमबाट ८७ धारा निर्माण गरिएको छ ।
समितिले सतासी खोलाको किनारमा ८७ वटा धारा बनाउने अवधारणा अनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले बताउनुभयो ।
‘शताक्षी’ शब्दको अर्थ सय आँखा भएको देवी हो । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्रीशताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताउनुभयो । नवनिर्मित धारालाई मुक्तिनाथमा भएको १०८ धारा पछिको दोस्रो धारा भएको समितिले जनाएको छ । योसँगै सतासीधाममा नयाँ आकर्षण थपिएको छ ।
यसैबीच, सताक्षीधाममा अतिथि गृहको समेत मुख्यमन्त्री कार्कीले आज शिलान्यस गर्नुभएको छ । उहाँले भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
“अहिले यति नै रकम हुन्छ भन्ने चाहिँ छैन”, उहाँले भन्नुभयो, “निर्माण समितिले सबै कागजी प्रक्रिया पूरा गरेपछि स्रोत सुनिश्चित गर्छौं ।”
गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथि गृह निर्माण गर्न रू १० लाख दिने घोषणा गर्नुभएको छ । तीन तलाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । तीन तले भवन ५५ कोठे हुने समितिले जनाएको छ ।


