झापा, १४ मंसिर । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया उद्योग अगाडि कुकर बम राख्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट बुधबार पक्राउ गरिएको डीएसपी चन्दले बताए । उनीहरूले नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नामबाट गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टी स्टेटको पश्चिम पर्खालनजिकै कुकर बम राखेका थिए । प्रहरीले घटनास्थलबाट गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन ? लेखिएको पर्चासमेत फेला पारेको थियो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर झापा जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।