झापा, १४ मंसिर । नेपाली व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेका छन् । झापाको चारआली घर भएका घ्यूको व्यापारी फुँयालले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा छ । फुँयालले झापाबाट भारतको आसाममा लगेर घ्यू बेच्ने गरेका छन् ।
फुयल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीचमा ‘कनेक्सन’ भेटिएको छ । फुयल र प्रसाईंको बीचमा सम्पर्क हुने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘धम्क्याएको भ्वाइस रेकर्ड उनले भारतबाट प्रसाईंलाई पठाउने गरेको देखिन्छ ।’
फुयलले राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई पनि धम्की दिने गरेको भेटिएको छ । भारतीय टेलिकम कम्पनी एयरटेलको दुईवटा सिम लिएर उनले ह्वाट्सएपमार्फत नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
फुयलले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए ।
बैंकर र व्यवसाय गर्ने ६ जनाले त्यसबारे सीआईबीमा जानकारी गराएका छन् । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’
फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् । अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्, ‘सुपारी लिएको छु भनेर उनीहरुले धम्की दिने गरेको देखिन्छ ।’ रातोपाटीबाट