
झापा, १६ मंसिर । जिल्लाका विभिन्न स्थानमा गएराति आगलागी हुँदा लाखौंको क्षति भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा धानको कुन्यू, झापा गाउँपालिकामा घरमा र दमक नगरपालिकामा किराना कस्मेटिक र खाद्यान्न पसल आगलागी हुँदा रू १९ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
अर्जुनधारा–११ सालबारीका ४७ वर्षीय भुमिनाथ बरालको र सोही स्थानका अमर राउतको १ बिघा धान काटेर जम्मा गरी राखेको धानको कून्यूमा अचानक आगलागी हुँदा २ लाख १० हजार बराबरको धान र कून्यू जलेर नष्ट भएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानीय, बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकलको सहयोगमा राति १२ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
त्यसैगरी, झापा–७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा विद्युत् लाइन सर्ट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटी बेराले बनेको तीन कोठे घरमा रहेको सम्पूर्ण मालसामान र नजिकै रहेको ग्वाली गोठ समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगो नेपाल प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
दमक–१ रवि स्टेनका शिव राईको अढाई तले घरको भुई तलामा किराना कस्मेटिक र खाद्यान्न पसल गर्दै आएका ४३ वर्षीय रामकिशोर साहको पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा रू १५ लाख बराबरको क्षति भएको छ । आगलागीबाट पसलमा रहेको सबै किराना, कस्मेटिक, झ्याल, ढोका, फ्रिज र अन्य सर–सामान जल नष्ट भएको छ । आगो नेपाल प्रहरी, दमक नगरपालिकाको बारुण यन्त्र र स्थानीयले नियन्त्रणमा लिएको थियो । यी आगलागीको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


