
झापा, १७ मंसिर । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा सम्पन्न भएको छ ।
झापाको कनकाई नगरपालिका २ स्थित जामुनखाडी सामुदायिक वनको सभाहलमा आज संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष नन्दमान भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा प्रमुख मोहनकुमार सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका अध्यक्ष भट्टराईले बजारमा आर्थिक मन्दी र विभिन्न अफवाह फैलिए पनि संस्था प्रति सदस्यको विश्वास र माया नघटेको बताउनुभयो । संस्थाको आर्थिक वर्ष २०८० ८१ को प्रगति प्रतिवेदन अनुसार २०८१ को असार मसान्तसम्म सेयर सदस्य २ हजार ५८९ जना, सेयर पुँजी ३ करोड ३ लाख ४ हजार ८००, जगेडाकोष २ करोड १७ लाख ४५ हजार ३८९, बचत १८ करोड ७४ लाख ४२ हजार ८५५ र ऋण लगानी २२ करोड ९ लाख ८६ हजार ५०० रहेको छ ।

कार्यक्रममा उत्कृष्ठ कर्मचारीको रूपमा सेवा केन्द्र प्रमुख इश्वरा तामाङ र बजार प्रतिनिधि रमा कार्कीलाई नगदसहित सम्मान गरेको छ। संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ठ सदस्यलाई सम्मान गरेको छ । उत्कष्ठ बचतकर्ता देविमाया श्रेष्ठ, नविन भट्टराई, गुरुप्रसाद संग्रौला, रामबहादुर बस्नेत, होमादेवि भट्टराई, सुवास भुजेल, अर्जन भट्टराई, मिना तामाङ, बाल बचतकर्ता जोन विक, आशिष मेचे सम्मानित भएका छन् ।
त्यसैगरी, उत्कृष्ठ कर्जा कारोबार गर्ने सरस्वता कडेंल, यमुना आङ्दम्बे, उषा तामाङ र फुलकुमारी लिम्बू सम्मानित भएका छन् ।
यस्तै, २०८० को एसईईमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ। सुयोग पोखरेल, रिता भण्डारी, प्रिन्सा काफ्ले र ओम राउत सम्मानित भएका छन् ।

यस्तै, संस्थाका ४ जना विपन्न सदस्यलाई सञ्चालक समितिका पदाधिकारीहरुले आफूले प्राप्त भत्ता रकमबाट दशरथ मुर्मु, रामनारायण चौधरी, बिष्टी चौधरी र जरिना मिया सम्मानित भएका छन् । संस्थाले संस्थापक सदस्य नरेश भट्टराई र गोलधाप युवा परिवारलाई सम्मान गरेको छ भने आगलागी पीडित अम्बरबहादुर राउतलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाका व्यवस्थापक पर्वतराज चिमरियाले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य गौरीप्रसाद भण्डारीले गर्नुभएको थियो । संस्थाका सल्लाहकार समिति सदस्य नारायण चिमरिया र नरेन्द्र न्यौपानेले सम्मानित सदस्यको सम्मानपत्र वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदी, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगी, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, न्यटन्स् एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, नेपाल महिला उधमशील संघ झापा अध्यक्ष पार्वता खरेल विमलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत गीत समेत प्रस्तुत गरिएको कार्यक्रममा ज्येष्ठ सदस्यलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।



