
बनियानी, १७ मंसिर । झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।
करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताउनुभयो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुण्यप्रसाद पौडेल हाजिर हुनुभएको थियो । उहाँले समेत गत कात्तिक ९ गते सरुवा भएर गएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
“लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।”
गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि प्रशासनिक काम पनि गर्न गाह्रो भएको उहाँले बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरे पनि हालसम्म नआएको उहाँले गुनासो गर्नुभयो ।
“काम गर्नुपर्ने बेलामा प्रमुख प्रशासकीय अधिकृत छैन”, उहाँले भन्नुभयो, “कसरी काम गर्ने ? मन्त्रालयमा माग गरेको ग¥यै छौं ।” आवश्यक निर्णय गर्ने, प्रमाणिकरण गर्ने, योजना आह्वान, सम्झौता लगायतका लागि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य भएकाले मारमा परेको अध्यक्ष राजवंशी बताउनुहुन्छ ।
गाउँपालिकामा काम गर्न आउन चाहने अधिकृतलाई समेत मन्त्रालयले नपठाएका अध्यक्ष राजवंशीले गुनासो गर्नुभयो । भन्नुभयो, “मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गर्न हामी पुनः जाँदैछौं ।”


