
झापा, १९ मंसिर । झापाको हात्तीप्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ शुरु गरिएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयबासीलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान शुरु गरिएको वडाध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो ।
बिर्तामोड–७ मा रहेको २४ वटा टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङ लगायतका टोलमा एक सय ५० वटाभन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उहाँले बताउनुभयो । सडक बत्ती जडानका लागि प्रति बत्ती रू एक हजार पाँच सयदेखि रू तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ ।
स्थानीयबासीको घरबाटै विद्युत् लिएर घर अगाडी बत्ती लगाइएको छ । जसको महसुल भने स्थानीयबासीले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताउनुभयो ।


