
बनियानी, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सूचना प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती बढ्ने सक्ने बताउनुभएको छ ।
झापाको कचनकवल–६ बनियानीस्थित रामजानकी तथा रामेश्वर शिव मन्दिरद्वारा आयोजित संगीतपूर्ण श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ १०८ अन्तर्गत ३०औं महापुराणमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पछिल्लो समय सनातन धर्म र हिन्दुत्वमाथि चुनौती बढ्दै गएको बताउनुभयो ।
“वर्तमान परिप्रेक्ष्यमा हाम्रो धर्ममाथि संकटको संकेत देखिँदैछ”, झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका उहाँले भन्नुभयो, “यस्ता चुनौतीहरू सामना गर्न चनाखो र जागरूक बन्नुपर्छ ।” धर्मको संरक्षणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले धार्मिक अनुष्ठानहरूले धर्मप्रतिको जिम्मेवारीबोध गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने काम गरिरहेको उहाँले बताउनुभयो । महायज्ञमा दैनिक रूपमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहँदै आएको छ ।



