
विनोद सापकोटा
झापा, २१ मंसिर । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की आएको छ ।
सामाजिक सञ्जालमा नारायण सिग्देलले बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालको पेजमा लेखेका छन् ‘बालसन्त र नन्दकिशोरलाई बचाउने कोही भए राति नै भगाए हुन्छ। भोलि म सताक्षीधाम आउनेछु। कि मर्छु कि मार्छु ।’
सिग्देलले यो यो धम्की बुधबार दिएका हुन्। बिहीबार धाम परिसरमा पुगेर दुई सन्तलाई मार्ने उनले धम्की दिए । सिग्देलको पहिचान भइसकेको प्रहरी अधिकारीले बताएका छन्। यद्यपि गोप्य राखिएको बताइएको छ । सन्तको ज्यान लिने सिग्देलविरुद्ध कानुनी उपचार खोज्ने गोलोक गोवर्धन गौशालाले जनाएको छ। यसैबीच शिवसताक्षी नगरवासीले धार्मिक गुरुहरूविरुद्ध दिएका अभिव्यक्ति तत्काल सच्याउन र सार्वजनिक रूपमा माफी माग्न अपिल गरेका छन्।
सताक्षीधाममा गोलोक गोवर्धन गौशालाले दशौँ वार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा विवाद भएको बताइएको छ ।
सताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले सामाजिक सञ्जालमा लोकले मानेका धर्म गुरुको ज्यान लिने अभिव्यक्ति आफूहरूलाई वाञ्छनीय नभएको बताएका छन्। ‘कुनै पनि विषयको विवाद भए तर्क वितर्क गरेर समस्याको समाधान खोज्न सकिन्छ,’ उपाध्यक्ष राईले भने ’तर सामाजिक सञ्जालमा ज्यानको धम्की दिने सिग्देललाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दछु ।’
नेपालको संविधानमा कहीँ कतै पनि कसैले कसैको ज्यान लिन पाउने अधिकार उल्लेख नभएको राईले बताए । ‘त्यसकारण यो कानुनसम्मत नभएकाले सिग्देललाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गरियोस्,’ राईले भने । सामाजिक सञ्जालमै अर्का सीताराम तिम्सिनाले पनि धार्मिक गुरुहरूको नाम जोडेर सताक्षीधाममा आयोजना भइरहेको गौरक्षा महोत्सव भाँड्ने प्रयास गरेका छन्। उनले पनि शिवलिङ्गमा लगाइएको चन्दनको विषयलाई विवाद झिकेर सामाजिक सञ्जालमा विष बमन गरेका छन्।
यस्तो छ विज्ञप्ति



