
कनकाई, २५ मंसिर । झापाको कनकाई नगरपालिकाले वडा नंं १ ले वडाका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ ।
मंगलबार आज वडाका १६ वटै टोलका एक–एक जना अतिविपन्न १६ परिवारलाई जाडोमा न्यानो ओड्ने ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख पोखरेलले नगरका अतिविपन्न परिवारको जीवनस्तर उकास्न र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्वता पनि जनाउनुभयो । आज वडा नं. का १६ जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको थियोे ।
वडा नं. १ का वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख शिवाकोटीले अति विपन्नहरुको सारथि नगरपालिका बन्ने भन्दै यो कार्यक्रम नगरका सबै वडामा क्रमशः वितरण गर्ने जानकारी गराउनुभएको थियो । वडाध्यक्ष पोखरेलले स्वागत एवम् औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, हरि कुमार राई वडाका कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।


