
बिर्तामोड, २९ मंसिर । झापाको बिर्तामोडमा आजदेखी शुरु भएको ‘प्रथम झापा कप फुटबल प्रतियोगिता’मा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जीतसँगै आर्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले एक÷एक गोल गरे । खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित हुँदै नगद रू १० हजार पाएका छन् ।
भोलिको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद रू १० लाख तथा उपविजेताले नगद रू पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो । नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा प्रदेशको स्रोतले भ्याएसम्म सहयोग उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


