
उर्लाबारी, २३ मंसिर । मोरङको उर्लाबारीमा शनिबार लैङ्गिक हिंसासम्बन्धी एकदिने प्रक्षिण कार्यक्रम आयोजना गरिएको छ ।
संकल्प प्रदेश–१ द्वारा उर्लाबारी–५ स्थित नारी जागरण केन्द्रको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अधिवक्ता कला त्रितालले लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, मुलुकी देवानी (सहिँता) ऐन र मुलुकी फौजदारी (सहिँता) ऐनको बारेमा जानकारी दिइन । उनले सामाजिक कुरुति अन्त्य गरी लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिने उल्लेख गरिन् ।
तालिम समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले सबै अभिभावकले आ–आफ्ना सन्तानलाई सही बाटोमा हिँडाउन सके लैङ्गिक हिँसा न्युनिकरण हुने बिचार व्यक्त गरिन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले अपराध हुनुभन्दा अगाडि त्यसको बाटो नै छेक्नुपर्ने बताए । उनले लैङ्गिक हिँसासम्बन्धी उजुरी परेमा त्यसलाई कडाईका साथ दोषीलाई कारबाही गर्ने बताए ।
संकल्प प्रदेश–१ की अध्यक्ष भिमा खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा लैङ्गिक हिँसाकी राष्ट्रिय अभियन्ता नजबुल खान, समाजसेवी शोभा चेम्जोङ्ग पालुङ्वालगायतले बोलेका थिए । तालिममा ६९ जना महिलाको सहभागिता रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

