
पाँचथर, १० पुस । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करण अन्तरगत बुधबार फिदिम माविको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा पुगेको हो ।
बिहीबार हुने खेलमा एनआरटी क्लब काठमाडौँ र सहलेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुनेछ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् । उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०र १० हजार प्राप्त गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


