
पाँचथर, १३ पुस । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको छ ।
शनिबार फिदिम मावि.को खेल मैदानमा सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबले न्यु रोड टिम (एनआरटी) फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मच्छिन्द्रका दयानन्द लाङबामले खेलको १० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच चर्च मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । सोमबार हुने फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र चर्च व्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०र१० हजार प्राप्त गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


