
बिर्तामेड, २० पुस । सरकारी नीति कारण फर्निचर तथा फर्निसिङ व्यवसायी मारमा परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
झापाको बिर्तामोडमा आज सम्पन्न नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १० औँ साधारणसभामा मन्तव्य राख्दै वक्ताहरुले सरकारी नीति व्यवसायी मैत्री नभएको बताए । सरकारले तीन खम्बे अर्थनीतिमा निजी क्षेत्रलाई समेटे पनि व्यवहार सो अनुरुप नगरेको बताए । कर तिर्ने व्यवसायीलाई सरकारले सहयोग गर्नुको साटो सौताको व्यवहार गरेको उनीहरुले आरोप लगाए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले फर्निचरका क्षेत्रमा भएका कानुनी अड्चनहरु हटाउन पहल गर्ने बताए । फर्निचर तथा फर्निसिङ व्यवसायका क्षेत्रका समस्याहरुको गाँठो फुकाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कानूनी जटिलताका कारण व्यवसायी मारमा परेकाले सरकारले सोको निराकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासंघका द्वितीय उपाध्यक्ष खगेन्द्र खरेलका अनुसार १० औँ वार्षिक साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८१–०८२ को अनुमानित आयव्यय तथा लेखापरीक्षकको नियुक्तिको टुंगो लगाउनेछ । साधारणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डिबी गौतम, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर महासंघका मधेश अध्यक्ष विनोद महत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपालमा दक्ष कालीगढको अभाव, कच्चा पदार्थमा उच्च भन्सार शुल्क लगायतका समस्याका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय मारमा परेको द्वितीय उपाध्यक्ष खरेलले बताए । महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको साधारणसभामा झापा अध्यक्ष रोहित आचार्यले स्वागत गरेका थिए । महासचिव छविलाल गैरेले सञ्चालन गरेको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष लोकबहादुर बस्नेतले गरेका थिए ।



