
मोरङ, २१ पुस । मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उर्लाबारी नगरपालिका–५ स्थित सडकमा प्रदेश १–०२–०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङ, रंगेली नगरपालिका–३ रंजनीस्थित सडकमा को. २ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवान र विराटनगर महानगरपालिका–१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका–१५ मिल्स एरियाका बैजनाथ ठाकुरको छोरा मोटरसाइकल चालक १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको कोशी अस्पताल विराटनगर उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । तीन वटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


