
झापा, २५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध थप दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध अपराधिक लाभ र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
यसअघि प्रसाईंविरुद्ध साइबर क्राइमको आरोपमा पनि मुद्दा दायर भएको थियो। उक्त कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध लगतै अर्को मुद्दा अदालत पुगेको हो। प्रसाईसहित पाँचथर घर भई झापाको मेचीनगरस्थित चारआलीका ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई–६ घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ।
यी मध्ये फुयाल हिरासतमा छन्। प्रसाई सर्वोच्चको आदेशले तारेखमा छन् भने मैनाली फरार छन्। प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए।


