
धनकुटा, २४ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।
पुस २४ गते बिहान सवा ४ बजे लागूऔषध गाँजा बिक्रिवितरण तथा ओसार पसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाईकल रोक्ने क्रममा मोटरसाईकलमा सवार रहेका व्यक्तिहरुले प्रहरी टोलीमाथी नै हातपात तथा ढुंगामुडा प्रहार गरे पश्चात प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर गरी ओसार पसारमा संलग्न रहेका ६ जनालाई उनीहरुले मोटरसाईकलमा बोकेको १२० किलोग्राम गाँजासहित ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा धनकुटा सहिदभुमी गाँउपालिका–१ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओम प्रकाश राई, साँगुरीगढी–८ का २८ वर्षीय मंगलकुमार राई, २९ वर्षीय बिसन राई, २६ वर्षीय थामबहादुर राई, २१ वर्षीय सुमन राई रहेका छन भने उनीहरुले प्रयोग गरेको को. ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को. १४ प ७७५० नम्वरको मोटरसाइकल रहेको छ । लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।


