
सन्तोष शर्मा
बनियानी, २६ पुस ः झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेको सीमा स्तम्भहरुको मर्मत कार्य शुरु भएको छ ।
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भमध्ये नेपाल भारत ‘बाउण्र्डी वर्किङ ग्रुप’ (बीडब्यूजी)को निर्णयानुसार सन् २०१४ पछि निर्माण भएर नेपालतर्फबाट मर्मत–सम्भार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत कार्यको शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।

मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५÷१२ बाट मर्मत सम्भार कार्य शुरु भइसकेको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव २ किलोमिटर अन्तरगत रहेका एक सय सात वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिनेछ ।
सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय झापा, नापी विभाग, जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयबासीको उपस्थितिमा सीमा मर्मत–सम्भार कार्य शुरु गरिएको हो ।
बीडब्यूजीको निर्णयानुसार सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुमध्ये सन् २०१४ पश्चात निर्माण भएका बिजोर नम्बरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलको तर्फबाट मर्मत सम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवै तर्फबाट सीमा स्तम्भको मर्मत–सम्भार कार्य हुँदै आएको छ ।


