
झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ ।
चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको देखाएको छ ।
आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो ।
पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले बृद्धि भई ५८७ अर्ब ८३ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो ।



