

चन्द्र बस्नेत
कनकाई, ३ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण हुने भएको छ ।
सुरुङ्गा जेसीजको आयोजनामा आगामी माघ ५ देखि ८ गतेसम्म कनकाई माविको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भारत सिक्किमको एक, कोशी प्रदेशभरिका १२ वटा पालिकाका टिम र आयोजकको एक गरी १४ वटा टिमको सहभागिता रहने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाठकले बताउनुभयो ।
यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने र उक्त खर्च प्रायोजक, सामाजिक संघ–संस्था, खेलप्रेमी, समाजसेवीको सहयोगबाट जुटाइने आयोजकले जनाएको छ ।
खेलको माध्यमबाट खेलाडी उत्पादन र उनीहरुको दक्षता बृद्धि गर्ने उदेश्यले भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो । सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक जेनिस चौलागाईंको संयोजकत्व तथा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, एलपी उप्रेती ,कमल कटेल लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले गर्नुहुने बताएको छ।
त्यसैगरी, प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति इग्लिस सेकेन्डरी स्कुल र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको सुरुङ्गा जेसीजका महासचिव रिसवसिंह चाहारले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेती, कमल कट्टेल, सल्लाहकार सोमनाथ उप्रेती, जिल्ला भलिवल संघ झापाका सचिव खडानन्द खतिवडा, सुरुङ्गा जेसीस सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान, सुरुङ्गा जेसीस अन्य पदाधिकारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सहजीकरण सुरुङ्गा जेसीज सन २०२४ का महासचिव रिसवसिंह चाहारले गर्नुभएको थियो । प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाको रहने बताइएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा सुनसरी, दोस्रोमा दमक र तेस्रोमा झापा गाउँपालिका बिजेता बनेका थिए । प्रतियोगिता तयारीसमेत तिव्र रुपमा अगाडि बढाइएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।