
चन्द्र बस्नेत
कनकाई, ७ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को उपाधिका लागि मोरङको बेलबारी नगरपालिका र टिभिए सिक्किमको पाउना टोली भिड्ने भएका छन् ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएका दुई सेमिफाइनलबाट दुई टोली फाइनलमा प्रवेश गरेका हुन् । आज सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र बेलबारी नगरपालिका मोरङबीच भएको पहिलो सेमिफाइनलबाट २५–२१,२७–२५ र २५–१७ ले बेलबारी नगरपालिका मोरङ विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ भने आजै भएको दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिका झापालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टिभिए सिक्किमको पाउना टोलीले फाइनलका लागि बेलबारीसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको फाइलन भोलि अपराह्न १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । फाइनल खेलअघि कनकाई नगरपालिका र झापा गाउँपालिकाको महिला टोलीको बीच खेल हुने र त्यसको विजेताले समेत नगदसहित ट्रफी र प्रमाणपत्र समेत प्राप्त गर्ने प्रतियोगिताका संयोजक जेनिस चौलागाईले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।
सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक राजुको अध्यक्षतामा भएको औपचारिक प्रतियोगितामा खेल संयोजक जेनिस चौलागाईंले सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीजका महासचिव रिसव सिङ्ग चाहारले गर्नुभएको गर्नुभएको थियो ।
खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष पाठकले बताउनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


