
झापा, ८ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को उपाधिका लागि आज अन्तिम प्रतिस्पर्धा हुँदैछ ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम उपाधि रक्षाका लागि आज अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा विजेताले गद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जेनिस चौलागाईले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रंगीन टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु)ले बताउनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको छ । प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


