
कञ्चनपुर, ११ माघ । कञ्चनपुर प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको छ।
बिहीबार साँझ दोधाराचाँदनी नगरपालिका ४ स्थित महाकाली माता मन्दिर नजिकै ३६ वर्षीया जानकी दमाईले सञ्चालन गरेको किराना पसलबाट लागू औषध चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोलीले छापा मारेको थियो। खानतलासी गर्दा जानकी दमाईको साथबाट १९.५४ ग्राम, ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र २१ वर्षीय अभिषेक सुनारको साथबाट ०.६१ ग्राम गरी जम्मा २१.२२ ग्राम चरेस फेला परेको छ।
त्यसै दिन माघ १० गते बिहीबार साँझ कृष्णपुर नगरपालिका ७ कलुवापुरमा गोप्य सूचनाको आधारमा प्रहरीले २१ वर्षीय दीपक रानाको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा रानाको सुत्ने कोठामा लुकाएर राखिएको ०.११ ग्राम खैरो हेरोइन फेला परेको छ। इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले दीपक रानालाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेको छ।
प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। लागू औषध नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनका लागि प्रहरीले कञ्चनपुर जिल्लामा निगरानी र कारबाहीलाई तीव्र बनाएको दाबी गरेको छ।


