
झापा, १४ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु भएको छ ।
झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आजदेखि फुटबल प्रतियोगितासँगै एनप्याब्सनको जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।
माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगात्मक कार्यक्रमको उद्घाटन शिक्षा समन्वय समिति झापाका प्रमुख देवेन्द्र मल्लले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मल्लले शिक्षाको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले किताबी ज्ञानले परीक्षा मात्र पास हुने भएकाले जीवनको परीक्षामा पास हुने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य सञ्जीव राई, जामुनबारी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लाका ५२ वटा विद्यालय एनप्याब्सनमा आबद्ध रहेको बताउनुभयो । आजदेखि शुरु भएको प्रतियोगात्मक १३ वर्ष मुनीको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएको उहाँले बताउनुभयो ।
जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा हुनेछ भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत हुनेछ । कार्यक्रमको समापन माघ १९ गते दमकको झापा मोडल स्कूलमा हुनेछ ।
एनप्याब्सन झापा उपाध्यक्ष मोहन आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गर्नुभएको थियो । उद्घाटन खेल इष्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाई बीच भएको थियो । उद्घाटन खेलमा इष्ट होराइजन विजयी भएको छ ।


