
चन्द्र बस्नेत
कनकाई, १८ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम अन्तर्गत बिहीबार भएको भलिबल तथा टेवल टेनिसको खेल सम्पन्न भएको छ ।
फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईको प्राङ्गणमा भएको कक्षा–१० सम्मका छात्रातर्फको भलिबलको उपाधि पशुपति इंग्लिस स्कूल काँकरभिट्टाले जितेको छ । शिखर ज्योति दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै पशुपति इंग्लिस स्कूल काँकरभिट्टाले उपाधि उचालेको हो।

त्यस्तै, छात्रतर्फ सोही विद्यालयबीच भएको प्रतिस्पर्धामा पशुपति इंग्लिस स्कूल काँकरभिट्टालाई ३–० को सोझो सेटमा नै पराजित गर्दै शिखर ज्योति दमकले उपाधि जितेको एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो ।
उता, कनकाई इंग्लिस स्कूल बिर्तामोडमा भएका टेवल टेनिसमा जुनियर कक्षा १–५ सम्मको छात्रातर्फ पशुपति इंग्लिस स्कूल काँकरभिट्टालाई पराजित गर्दै ईस्ट होराईजन इंग्लिस स्कूल धुलाबारी विजयी भएको छ । त्यस्तै, छात्रतर्फ झापा मोडल स्कूल दमकलाई पराजित गर्दै दन्तकाली इंग्लिस स्कूल चाराली विजयी भएको आयोजकले जनाएको छ ।

त्यस्तै, टेवल टेनिसमा सिनियर कक्षा ६–१० सम्मका छात्रातर्फ पशुपति इंग्लिस स्कूल काँकरभिट्टालाई पराजित गर्दै सूर्योदय इंग्लिस स्कूल काँकरभिट्टा विजयी हुँदा सोही उमेर समूहको छात्रतर्फ झापा मोडल स्कूल दमकलाई पराजित गर्दै पशुपति इंग्लिस स्कूल काँकरभिट्टा विजेता बनेको आयोजकले जनाएको छ।

त्यस्तै टेवल टेनिसमा नै प्लस टु छात्रातर्फ सूर्योदय इंग्लिस स्कूल काँकरभिट्टालाई पराजित गर्दै झापा मोडल स्कूल दमक विजयी भएको छ भने छात्रतर्फ सूर्योदय इंग्लिस स्कूल काँकरभिट्टालाई नै पराजित गर्दै इष्ट होराइजन बोर्डिङ स्कूल धुलाबारी विजेता बनेको कार्यवाहक अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत आज फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईको प्राङ्गणमा नै प्लस टु तर्फको छात्रा–छात्रको अलग अलग नै भलिबल प्रतियोगिता हुने कार्यवाहक अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
गत माघ १४ गते जारी जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा जारी छन भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत शनिबार आयोजना हुँदै छ । कार्यक्रमको समापन पनि माघ १९ गते शनिबार नै दमकको झापा मोडल स्कूलमा हुनेछ ।


