
सन्तोष शर्मा
झापा, १८ माघ । उपेक्षित उष्णप्रदेशीय रोग हात्तीपाइलेका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा सराकारवालाहरुले जोड दिएका छन् ।
प्रादेशिक अस्पताल र सहारा नेपालको आयोजनामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नाराका साथ बिहीबार यहाँ भएको कुष्ठ तथा हात्तीपाइले रोग प्रभावितहरुको लागि स्वास्थ्य बिमामा सहज पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमका उनीहरुले त्यस्तो जोड दिएका हुन् ।

अन्तरक्रियामा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले जिल्लाका १५ वटै पालिकाले हात्तीपाइले रोगीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा जोड दिनुभयो । “हात्तीपाइले र कुष्ठरोगी यही समाजका नागरिक हुन्”, उहाँले भन्नुभयो, “सरकार नागरिकप्रति संवेदनशील हुनुपर्छ ।” जिल्लाका सबै पालिकासँग समन्वय गरेर हात्तीपाइले रोगीको निःशुल्क बिमा गर्न लागि लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरलले नगर क्षेत्रमा रहेका हात्तीपाइले रोगीलाई स्वास्थ्य बिमामा जोड्ने अभियान नगरपालिकाले शुरु गरेको बताउनुभयो । “हात्तीपाइले रोग जटिल समस्याका रुपमा देखिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकासँग पनि पर्याप्त बजेट छैन, सबैको सहयोग र सहकार्य जरुरी छ, नगरको अभियानमा कोही छुट्नु भएको छ भने सम्पर्क आउन आग्रह गर्छु ।”

जिल्लामा हात्तीपाइले, कुष्ठरोग, डेंगु लगायतका उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण दर उच्च रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताउनुभयो । जिल्लामा १३ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सञ्चालन गरे पनि नयाँ संक्रमित भेटिने गरेको उहाँले बताउनुभयो । जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगहरु ठूलो समस्याका रुपमा देखिएकाले समाधान गर्न जरुरी रहेको उहाँको भनाइ छ । हात्तीपाइले रोगीलाई स्वास्थ्य बिमामा जोड्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
झापाको प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आए पनि लक्षित समुदायलाई यसका बारेमा जानकारी नहुँदा रोग बोकेर घरमै थलिएर बसिरहेको उहाँले बताउनुभयो ।

प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट रामबाबु खड्काले स्थानीय सरकारले हात्तीपाइले रोगीको पहिचान गरेर स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिनुभयो । प्रादेशिक अस्पतालले समेत आर्थिक अवस्था कमजोर भएका हात्तीपाइले रोगीको उपचारका सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर सुजन काफ्लेले आर्थिक वर्ष २०७९÷०८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरंग (ओपीडी) सेवा शुरु भएको बताउनुभयो ।
हात्तीपाइले रोगीको उपचारका लागि सरकारले वार्षिक रू दुई लाख दिने गरेको बताउँदै उहाँले उक्त रकमले उनीहरुको उपचार प्रभावकारी रुपमा गर्न नसकिएको बताउनुभयो । “बिरामीलाई दुई सय रुपैयाँ यातायात खर्च दिन्छौं”, उहाँले भन्नुभयो, “त्यो पर्याप्त हुँदैन, विपन्न वर्गका मानिस धेरै बिरामी छन्, आर्थिक अभावले पनि उनीहरु उपचार गर्न आउँदैनन् ।”
हालै एक जना बिरामीको खुट्टाको शल्यक्रिया गर्दा अस्पतालबाट निःशुल्क उपचार भए पनि ती बिरामीको रू एक लाख २९ हजारभन्दा बढी खर्च भएको उहाँले सुनाउनुभयो । हात्तीपाइलेका बिरामीलाई स्वास्थ्य बिमामा समेट्न सके उनीहरुको उपचारमा धेरै राहत हुने उहाँले बताउनुभयो ।

हात्तीपाइले रोगीले वर्षमा कम्तिमा कम्तीमा दुई-तीन पटक अस्पताल जानुपर्ने अवस्था आउने सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले बताउनुभयो । “रोगको संक्रमणले गर्दा वर्षमा कम्तिमा एक पटक अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो, “विपन्न वर्गका मानिसमा यो रोग उच्च देखिएकाले उनीहरुको निःशुल्क स्वास्थ्य बिमा गर्न जरुरी छ ।” बिमा बोर्डले कुष्ठरोगलाई स्वास्थ्य बिमामा जोडे पनि हात्तीपाइले छुटेकाले त्यसलाई बिमामा जोड्न पहल भइरहेको उहाँले बताउनुभयो ।
विगत ३४ वर्षदेखि हात्तीपाइले रोगबाट पीडित बन्नुभएकी भद्रपुर–८ की भुलभुल शर्माले शुरुमा रोग थाहा नहुँदा र डाक्टरबाट समेत सही उपचार नहुँदा हात्तीपाइले रोगको शिकार हुनुपरेको बताउनुभयो । “२०४३ साल भदौ देखि मलाई हात्तीपाइले रोग लागेको हो”, उहाँले भन्नुभयो, “त्यतिबेला उपचार राम्रो नहुँदा खुट्टा सुन्नियो, अहिले त्यस्तो छैन, आउँदो पुस्ताले यस्तो रोगको पीडा भोग्नु नपरोस् ।”
अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक अर्जुन चौधरीले गर्नुभएको थियो ।



