
मोरङ, १९ माघ । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो ।
मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।


