
चन्द्र बस्नेत
कनकाई, १९ माघ । झापाको कनकाई नगरपालिकामा ३ हजार ९९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगर स्वास्थ्य शाखाले आगामी माघ २२ गतेबाट २८ गते सम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
खोप अभियानका विषयमा आज कनकाई नगरपालिकामा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । विद्यालयभित्र रहेका कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालले जानकारी दिनुभयो ।

माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक किशोरीहरूलाई खोप लगाउने अभियान सञ्चालन हुन लागेको उहाँले बताउनुभयो । कनकाई ९ वटा वडाका विद्यालयमा अध्ययनरत २ हजार ६ सय २१ र विद्यालय बाहिर रहेका ४ सय ७८ गरी ३ हजार ९९ किशोरीलाई खोप लगाइने भएको हो ।
जसका लागि ३९ खोप केन्द्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवक र सुपरीवेक्षक गरी दुई सय जना परिचालन हुनेछन् । एक डोज खोपले वयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने उहाँको भनाई छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ ।
पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् । यो खोपबाट सामान्य बोहक अरू कुनै असर नगर्ने आफूले जानकारी लिएको नगर प्रमुख नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालिकालाई लगाउन उहाँले आग्रह गर्नुभयो ।

पाठेघरको मुखको क्यान्सर रोगविरूद्व रोक्ने एकमात्र प्रभावकारी उपाय खोप हो । २२ गते देखि २८ गते सम्म चल्ने अभियानमा आफ्ना छोरीचेलीलाई खोप लगाउन अभिभावकलाई नगरप्रमुख पोखरेलको अनुरोध छ ।

खोप समन्वय समितिका संयोजक तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कनकाई नगर जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल प्रर्सन नारायण अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कनकाई–५ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई, कनकाई सुरुङ्गा प्रेसक्लबका अध्यक्ष लीलाराज झापाली लगायतले कार्यक्रमको सफलताको शुभकामना राख्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख आशाशर्मा शिवाकोटी, वडा अध्यक्षहरू बलराम राई (प्रताप), युवराज चौलागाईं, रोषन सुवेदी, कृष्णबहादुर राई, भीष्मभुषण सिटौला, कार्यवाहक वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, महिला बालबालिका शाखा प्रमुख टीका खतिवडा, अधिकारकर्मी शान्ता पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष विजय तिवारी लगायतको सहभागितामा रहेको अन्तक्रिया कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले गर्नुभएको थियो ।




