
जलथल, १९ माघ । मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको आज संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
मुक्तियोद्धा आङ्देम्वेको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएको थियो । सो क्रममा नेता सिटौलाले निष्ठाको राजनीतिका पर्यायका रूपमा रहेका आङ्देम्वेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो ।
कांग्रेस नेताहरू कृष्णप्रसाद भट्टराई, विपी कोइराला, भुविक्रम नेम्वाङ, सिके प्रसाईं, गिरीजाप्रसाद, सुशील कोइराला जस्ता नेताहरू सहपाठी रहेका स्व। आङ्देम्वे पार्टीका इमान्दार कार्यकर्ताको रूपमा चिनिएको नेता सिटौलाले बताउनु भयो । राणा शासन विरूद्व हतियार उठाएर जनताको मुक्तिका लागि लडेका मुक्तियोद्वा आङ्देम्बेले कहिले पनि आफूलाई परेको दुःख पोखेर गुनासो नगरेको नेता सिटौलाले बताउनु भयो ।
आजको दिनमा इमान्दार राजनीति गर्नसके मात्रै स्व अमृतबहादुरप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । अमृतबहादुरको शनिबार दिउसो चारकोसे जंगलको चिहानडाँडामा लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । १९८२ सालमा पाँचथरमा जन्मिएका आङ्देम्वेको शुक्रवार ९९ वर्षको उमेरमा निधन भएको थियो ।


