
झापा, २० माघ । प्रेमीबाट छुटाउन विराटनगर महानगरपालिका–५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्या भएको खुलेको छ ।
हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको हो । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।
भारत बिहार प्रदेशको छपरा जिल्लामा घर भएकी उनी पुस पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि माघ ११ गते मा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’
चाँदनी मामाघर आएको र छरछिमेकीहरूले उनलाई नदेखेपछि गाउँघरमा हल्ला चल्यो । चाँदनी बेपत्ता भइन् । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरको हजुरबुवा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भएको थियो ।


