
बिर्तामोड, २० माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकमा विकासका काम तीव्र गतिमा बढिरहेको बताउनुभएको छ ।
प्रेस चौतारी झापाले आज बिर्तामोड आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले साना–ठूला ठेक्काहरु लागिसकेको र केही लाग्ने क्रममा रहेकाले भौतिक विकासका काम तीव्र रुपमा अघि बढेको बताउनुभयो ।
“देशको विकासले एउटा फड्को मार्दैछ”, उहाँले भन्नुभयो, “बुटबल नारायणहाट छ महिनादेखि अवरुद्ध थियो त्यो अगाडि बढेको छ ।”
मन्त्री दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताउनुभएको छ । मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भए पनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताउनुभयो ।
रेल प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न स्रोत सुनिश्चितताको विषय उठिरहेका बेला मन्त्री दाहालले यस विषयमा अर्थ मन्त्रालयसँग कुराकानी भएको बताउनुभयो । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने जनाउँदै चार वर्षअघिदेखि झापा, मोरङ र सुनसरीका सर्वसाधारणको जग्गा रोक्का राखेको छ ।
रेल प्रभावित क्षेत्रका बासिन्दाले सरकारले मुआब्जा नदिए आफ्नो जग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको माग सुनवाई गर्दै चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि रेलमार्ग बनाउने मन्त्री दाहालले बताउनुभयो । सरकारको एउटा ड्रिम प्रोजेक्टका रुपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै मन्त्री दाहालले यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको दोहो¥याउनु भयो ।



