
झापा, २१ माघ । महोत्तरीको गौशाला नगरपालिका–८ की २१ वर्षीया युवतीको हत्या भएको छ।
विवाह भएको दुई महिनामै आइतबार गौशालाकी खुश्वु यादवको हत्या भएको अवस्थामा शव फेला परेको हो । हत्या उनको पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएको छ ।
मृतकका पति हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले डीएसपी सन्तुलाल जैसवालले बताए । हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका रहेको उनले सुनाए । खुश्बुको शव आइतबार दिउँसो गौशाला–५ को एकान्त ठाउँमा रहेको भिसघारीमा फेला परेको हो।
घरदेखि केही टाढा रहेको रुख बुट्यान रहेको घारी क्षेत्रमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो डीएसपी जैसवालले बताए । विवाह भएदेखि नै पतिपत्नीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन् । दाइजोको निहुँमा हत्या भएको आशंका स्थानीयको छ ।
खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका–१ पर्सादेवाड हो। स्थानीय लक्ष्मण यादवकी छोरी खुश्बुको गएको मंसिर ७ गते मात्रै गौशाला–८ बेलगाछीका चन्देश्वर यादवका छोरो अभिषेक यादवसँग मागी विवाह भएको थियो। उनको शव आइतबारै जलेश्वर अस्पतालमा पोस्टमार्टमपछि माइती पक्षको जिम्मा लगाइएको डीएसपी जैसवालले बताए।


