
चन्द्र बस्नेत
कनकाई, २१ माघ । झापाको कनकाई नगरपालिकामा पालिकास्तरीय फुटबल प्रतियोगिताको सातौं संस्करण हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी माघ २५ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । प्रतियोगितामा १२ पालिकाको टिम सहभागी जनाउने भएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न ५ उपसमिति गठन गरेर तयारी तीव्र पारिएको खेल संयोजक भुवन खटिवडाले जानकारी बताउनुभयो । प्रतियोगिताको आर्थिक व्यवस्थापन समितिको संयोजकमा प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयाल, प्रचार–प्रसार समितिको संयोजकमा सचिव रामप्रसाद निरौला, खेल मैदान तथा स्टेज व्यवस्थापन समितिको संयोजकमा राजेश अघोरी, अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा गीता खरेल, सहजीकरण समितिको संयोजकमा ज्योतिकुमार उप्रेती रहेका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कारको राशी १ लाख १५ हजार र दोस्रो पुरस्कार ६१ हजार रुपैयाँ रहेको छ । कनकाई नगरपालिकाबाट यो प्रतियोगिताका लागि २ लाख ५० हजार र आगामी फागुन २४ गते नारी दिवसका दिनबाट आयोजना हुने महिला फुटबलका लागि २ लाख ५० हजार गरी ५ लाख रकमका लागि सम्झौता भइसकेको अध्यक्ष थपलियाले बताउनुभयो ।
प्रत्येक दिनको मेन अफ द म्याच, खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, म्यान अफ दि सिरिज लगायतका विधामा समेत पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मुख्य आर्थिक सहयोग कनकाई नगरपालिका रहेको प्रतियोगितामा खेल सम्पन्न करिब ५ लाख ९१ हजार ९ सय रुपैयाँको लागत अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनको सहजीकरण समितिको संयोजकमा ज्योतिकुमार उप्रेतीले गर्नुभएको थियो । खेल प्रशिक्षक लिलु गिरी, सल्लाहकार राजेन्द्रप्रसाद उप्रेती लगायतले प्रतियोगिताको बारेमा सुझाव दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद निरौलाले गर्नुभएको थियो ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने भएको छ ।


