
शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा ११ वटै वडाहरुमा एच.पि.भि. खोप लगाउन सुरु गरिएको छ ।
शिवसताक्षी ९ को धु्रवतारा आवाशीय माध्यमिक विद्यालय खोपकेन्द्रबाट एच.पि.भि. खोपको उद्घाटन गरि अभियान सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोप अभियानको उद्घाटन शिवसताक्षी नगरपालिकाकी नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफ्ले उद्घाटन गरेका हुन् ।

महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप शिवसताक्षी नगरपालिकामा रहेका भित्रका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रोषन अधिकारीले जानकारी दिए ।
उनले आज खोप अभियानको पहिलो दिन नगरका ७ सय १५ किशोरीलाई खोप लगाइएको बताए । नगरमा ३ हजार ८ सय ५० जना किशोरीलाई खोप लगाइने बताइएको छ । खोप लगाएका किशोरीहरुलाई खोप कार्ड समेत वितरण गरिएको थियो ।
आजबाट नगरका ११ वटै वडामा रहेको सामुदायिक विद्यायल तथा नीजि विद्यालयहरुमा खोप अभियान सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच।पि।भी।खोप देशैभरी एकैसाथ अभियानको रुपमा सञ्चालन गर्न लागेको हो ।
एच.पि.भी. एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन्छ भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पी.भी. भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।
अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिँदै आइरहेको छ। त्यसैले यसको प्रभाबकारीता शतप्रतिशतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यत विद्यालय केन्द्रीत खोपकेन्द्रबाट एच. पि.भी. खोप दिइदैछ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा र्पुयाउन नेपाल सरकारले सन २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ ।



