
शिवसताक्षी, २५ माघ । झापाको शिवसताक्षी भएको निबन्ध लेखन अन्तर विद्यालय प्रतियोगितामा भानु माध्यमिक विद्यालय प्रथम भएको छ । वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगितामा भानु माविकी कञ्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् ।
प्रथम भएसँगै उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगिता श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरेका छन् भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरेको आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए ।
दोस्रो र तेस्रो हुने छात्राहरुले क्रमशः नगद ३ हजार र २ हजार तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा मोती माविका छात्रा निरुता भट्टराई र भानु मावि पाराबारी छात्र स्वपलि नेपालले सान्तवना स्थान हासिल गरेको सताक्षीधाम साहित्य संगमले जनाएको छ ।
सतासीधाम साहित्य संगमले विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकास गर्ने उद्देश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको संगमका अध्यक्ष उमानाथ दाहालले बताए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र बढ्दो प्रविधिको प्रयोगले लेखन कलामा विद्यार्थीहरु पछि पर्दै गएकाले पनि यस्ता कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दाहालको भनाई छ ।
प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा यस्ता कार्यक्रमहरुले महत्वपूर्ण योगदान दिने बताए ।
प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १७ माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकको भूमिका श्रीप्रसाद खरेल, विरेन्द्र थोक्लियाङ्ग र गिरीराज शेर्मा रहेका थिए । कार्यक्रममा शिक्षा सेवी मिलन ढुंगाना र रा.र.आ.मा.वि प्र.अ. गिरीराज शेर्माले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन यादवप्रसाद घिमिरे र लोकमणी गौतमले गरेका थिए । सताक्षीधाम साहित्य संगम शिवसताक्षीले प्रतियोगिताको आयोजना गरेको थियो ।


