
इलाम, २६ माघ । रोङ गाउँपालिकामा अवस्थित पाथिभरा मन्दिरको पछिल्ला २४ महिनाको जम्मा आम्दानी ३ करोड ३६ लाख (जिन्सीसहित) पुगेको छ। २०७९ साल फागुन १ गतेदेखि पाथिभराको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले आफ्नो जिम्मामा लिएको थियो, जसलाई हाल २ वर्ष (६ दिन कम) पूरा भएको छ।
अघिल्लो आर्थिक वर्षसम्मका पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेका छन् भने चालू आर्थिक वर्षका योजनाहरू कार्यान्वयनको चरणमा छन्। व्यवस्थापनमा सुधारसहित पारदर्शिता कायम राख्दै भक्तजनको विश्वास जित्न सफल भएको बताइएको छ।
२०७९ सालमै ‘पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन’ जारी गर्दै एक समिति गठन गरिएको थियो, जसले आज दुई वर्ष पूरा गरेको छ । समितिको कार्यकुशलता, पारदर्शिता, इमान्दारिता, अनुशासन र एकतालाई ध्यानमा राखी ऐनको नियम ४ बमोजिम केही संरचनात्मक परिमार्जन गर्दै थप एक कार्यकालका लागि सोही समितिलाई पुनः नियुक्त गरिएको छ।
गाउँपालिकाले दिएको जिम्मेवारीलाई शिरोधार्य गर्दै अहोरात्र परिश्रम गरी सफल व्यवस्थापन गरेकोमा समितिका सम्पूर्ण सदस्यहरूलाई उच्च सम्मानसहित आभार प्रकट गरिन्छ। साथै, पाथिभरा स्थापनाकालदेखि योगदान पुर्याउने सम्पूर्ण संस्थापक व्यक्तित्व, दाता, भक्तजन र व्यवसायीहरूप्रति गहिरो सम्मान व्यक्त गरिन्छ।
पाथिभरा पूर्वी नेपालको एक महत्त्वपूर्ण धार्मिक स्थल हो, जहाँ आउने भक्तजन तथा धार्मिक पर्यटकहरूले स्थानीय व्यवसाय तथा जीविकोपार्जनमा टेवा पु¥याउँदै आएका छन्। साथै, कन्याम, श्रीअन्तु तथा आसपासका अन्य गन्तव्यहरूको चहलपहल बढाउन समेत यसले उल्लेखनीय भूमिका खेलेको छ।


