
झापा, २७ माघ । चितवनमा आज बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३–००१ ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ। सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारको लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ। बसमा २९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन्। अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ। घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, बसको चालकतर्फको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।


