
बिर्तामोड, २ फागुन । नेकपा माओवादी केन्द्रका तीन वटा नगर समितिले झापाको बिर्तामोडमा जनयुद्ध दिवस मनाएका छन् । नेकपा माओवादी केन्द्र बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगर समितिले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन् ।
बिहीबार साँझ उनीहरुले बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरी ३०औं जनयुद्ध दिवस मनाएका छन् । नेपालको नक्सा भित्र हँसिया हतौडा चिन्ह निर्माण गरी दीप प्रज्वलन गरिएको थियो । माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङको सभापतित्वमा भएको कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले जनयुद्ध ऐतिहासिक भएको बताएका थिए ।
मुलुकको परिवर्तन र नेपाली जनताको मुक्तिका लागि २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्धका कारण मुलुकले छलाङ मारेको उनीहरुले बताए । उनीहरूले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था बदल्न भने अझै बाँकी रहेको उल्लेख गरे ।
कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अर्जुन पाण्डे, रिटर्नी सेन्टरका संस्थापक महासचिव भीम लकान्द्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, लक्ष्मी न्यौपाने (सरु) लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीका सचिव गणेश कालिकोटेले सञ्चालन गरेका थिए ।



