
बिर्तामोड, २ फागुन । धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आज आयोजना गरेको धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा सरोकारवाला विज्ञहरुसँगको प्यानल डिस्कशनमा सहभागीले त्यस्तो जोड दिएका हुन् । पर्यटनको विकास तीर्थाटनबाट शुरु भएको बताउँदै उनीहरुले धार्मिक, ऐतिहासिक, प्राकृतिक सबै पक्षमा ध्यान दिएर धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यानदिनुपर्नेमा जोड दिएका छन् ।
एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उदेश्यले निर्माण गरिने भौतिक संरचना’ का विषयमा प्यानल डिस्कशन गरिएको थियो । धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले पुरातात्विक स्थल अहिले कंक्रिटले भरिएको बताउनुहुँदै ऐतिहासिक स्थललाई प्राकृतिक रुपमै राख्नुपर्नेमा जोड दिनुभयो । ती स्थानमा जुन प्रकारले संरचना निर्माण हुनुपर्ने हो सो अनुसार हुन नसकेको बताउनुभयो ।
अर्का प्यानलिस्ट पर्यटन व्यवसायी अमिर राईले धार्मिक पर्यटनका हिसाबले नेपाल उर्वरभूमि भएको बताउनुभयो । उहाँले धार्मिक कंक्रिटले भरिएको बताउनुहुँदै मौलिकता झल्कने संचरना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का प्यानलिस्ट इ. काजिराम कार्कीले धार्मिक क्षेत्रमा निर्माण भएका पूर्वाधार तथा संरचना त्यहाँको अनुकूल हुनुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटनलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउँदै रणनीति र तथ्यांक जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिमा रहेकाले नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय स्तरमा पाइने वस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्माण नीतिका विषयमा ललीतपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग प्यानल डिस्कशन गर्नुभएको थियो । प्यानल डिस्कशनको शहजीकरण कार्यक्रम संयोजक इ. प्रकाशकुमार सिंहले गर्नुभएको थियो ।
एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इ. रोशन सुवेदीले स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन एशोसिएसनका निमित्त सचिव इ.अजित ढुङ्गानाले गर्नुभएको थियो ।
कार्यक्रममा झापाका पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष इ. जगनाथ शाहले पार्नुभएको थियो ।
प्यानल डिस्कशनमा सरोकारवाला बत्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तरक्रियात्मक गोष्ठिबाट निस्किएको निचोडका आधारमा चाँडै झापाका सबै क्षेत्रलाई समेटेर साझा प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिने बताइएको छ ।


