
चन्द्र बस्नेत
कनकाई, ५ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पूरा भएको छ ।
कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा फागुन ७ गते आयोजना हुने फक्ताङलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने उहाँले बताउनुभयो । सँगै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो ।
महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।
महोत्सवमा प्राचिन घरेलु सामग्रीको प्रदर्शनी तथा फक्ताङलुङ म्युजियमको उद्घाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछ ।

फाउण्डेशनमा नर्सरीदेखि कक्षा–१० सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा न्युनतम शुल्क, शान्त वातावरणमा सर्वसुलभ यातायात, गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको पाइएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो । बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको उहाँले बताउनुभयो ।
२०६६ सालमा अध्यापन शुरु गरेको विद्यालयमा हाल ४ सय ५० बढी विद्यार्थी र ३० शिक्षक–कर्मचारी रहेका छन् । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालयस्तरीय भएका प्रतियोगिता अन्तर्गत धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

अन्तराष्टिय अवार्ड समेत प्राप्त गरेको विद्यालयमा हरेक साताको बिहीबार इसिए अन्तर्गत किताबमा पढाइएका ज्ञानलाई प्रयोगात्मक स्वरुप कला, संस्कृतिको जगेर्ना, नृत्य, गायन, नाटकका साथै विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको छ ।


