झापा, ६ फागुन । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ।
गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सवारी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको मृत्यु भइसकेको छ।
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सवारी दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ। गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार गत साउनमा एक हजार छ सय २८ सवारी दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ।


