दुर्गापुर, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा आज फक्ताङलुङ महोत्सव २०८१ हुँदैछ ।
कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको आयोजनामा फाउण्डेसन प्राङ्गणमा महोत्सवको हुँदैछ । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो ।
महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ । महोत्सवमा प्राचिन घरेलु सामग्रीको प्रदर्शनी तथा फक्ताङलुङ म्युजियमको उद्घाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछ ।


